Apr 172013
 

WEDNESDAY, 17 APRIL 2013 11:02 सम्पादकीय

काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा असारदेखि प्रतिबन्ध लगाउने एकदमै आवश्यक निर्णय गरेको छ। धेरै पहिले गर्नुपर्ने निर्णय धेरै पछि गरिए पनि यसलाई सबैले सहयोग र समर्थन गर्नैपर्छ। मानव तथा अन्य प्राणीमात्र हैन, पृथ्वीलाई समेत दूषित र रोगी बनाउन सक्ने हैसियतको प्लाष्टिक प्रयोगविरुद्ध भएको यो निर्णयले वातावरण संरक्षणमा दूरगामी प्रभाव पार्ने निश्चित छ। त्यसैले महानगरको यो निर्णयलाई अन्य धेरै निर्णयजस्तो कागजीरूपमै सीमित नराख्न महानगरबासी त लाग्नैपर्छ, सँगै गैरमहानगरबासी तथा सरकारी निकाय, उपभोक्ता, उद्योगी, व्यापारी, वातावरणप्रति सचेत व्यक्ति सबैले दिलोज्यानले सघाउनुपर्छ।

प्लाष्टिकले ओजन तहलाई क्षयग्रस्त तुल्याउँछ। यसलाई जलाएपछि समस्या समाप्त भएको ठान्नेहरु पनि उत्तिकै छन्। तर यसलाई जलाएपछि त्यसबाट विषालु ग्यास निस्कन्छ। जसको अधिक सामीप्यताले गर्भको बच्चा तुहिने वा जन्मे पनि अपांग भएर जन्मने अनुसन्धानको निचोड पनि बेलाबेलामा सार्वजनिक भएकै हुन। त्यसैगरी यसले प्रजनन् अंगहरुमा पनि असर पार्ने पुष्टि भएका छन्। त्यतिमात्र हैन, यो गाईवस्तुले खाइदिने भएकाले ती वस्तु तत्काल मर्ने सम्भावनासमेत रहन्छ भने नमरे पनि यो सेवन गर्ने वस्तुभाउ रोगी हुने सम्भावना पनि उत्तिकै रहन्छ। त्यतिमात्र पनि हैन, प्लाष्टिकमा हुने रसायनले शरीरमा व्याप्त डाइबिटिज र कलेजो रोगलाई बढी सताउने पनि चिकित्सकहरुले बताउँदै आएका छन्।

हलुका हुने भएकाले सामान्य हावाले पनि उडाउन सक्ने र जताजतै पुर्यातउन सक्ने, सानो झिल्काले पनि बलिहाल्न सक्ने, खेतबारीमा पुगेमा उत्पादन प्रक्रिया नै अवरुद्ध गरिदिन सक्ने जस्ता विविध अवगुण पनि बोकेको हुन्छ प्लाष्टिकले। यसरी हेर्दा समग्रमा प्लाष्टिक मानवमात्रका लागि नभई सिंगो धर्तीकै लागि मन्द विष हो, जसले क्रमशः यो दुनियालाई सिध्याउने हैसियत राख्छ। उज्ज्वनशीलता यसको अर्को खराब पक्ष हो। जसले धेरै पक्षमा क्षति पुर्यािउने सम्भावना रहन्छ।

त्यसैले यस्तो वैगुन नै वैगुनले युक्त प्लाष्टिकको झोला प्रयोग गर्न नदिने निर्णय यिनै कारणले स्वागतयोग्य छ। तर अहिले महानगरपालिकाले झोला प्रयोगमा मात्र प्रतिबन्ध लगाउने निर्णय गरे पनि विस्तारै प्लाष्टिकबाट निर्मित सबै कुरामा विकल्प दिएर तथा प्रशस्त तयारी गरेर प्रतिबन्ध लगाउँदै जाने नीति अख्तियार गर्नु आवश्यक छ। थोरैतिनो राजश्व हात पर्ने तथा केहीको रोजीरोटीसँग जोडेर प्लाष्टिक निषेध गर्ने निर्णयविरुद्ध विरोधका आवाज पनि उठ्न सक्छन् तर उनीहरुप्रति सहानुभूति राख्नेतर्फ सोचियो भनेचाहिँ यो निर्णय पनि महानगरका अन्य थुप्रै निर्णय जस्तै हावादारी सावित हुन पुग्छन्। अनि महानगर निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने पुरानो आरोपबाट फेरि पनि मुक्त हुन नसक्ने अवस्थामा पुग्नेछ।

वर्षौंदेखि सजिलो माध्यमका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिक झोला प्रतिबन्ध गर्नु त्यति सहज पनि छैन। यसका लागि कागज वा अन्य थैला/झोला पर्याप्त उत्पादन गरिनुपर्छ, जसले वातावरण संरक्षणमा सहयोग पुगोस्। अर्कोतर्फ जबर्जस्ती भन्दा पनि उद्योग वाणिज्य महासंघ, उपभोक्ता, प्लाष्टिक उद्योगी जस्ता सरोकारवाला निकायलाई नै अग्रसर गराएरमात्र यस्तो निर्णय प्रभावकारी कार्यान्वयनमा ल्याउन सकिन्छ। हुन त महानगरले वैशाख र जेठभर प्लाष्टिक निषेध अभियानबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने खबर पनि दिएको छ। त्यसका लागि सरोकारवालालाई नै सक्रिय बनाउनुपर्छ। प्लाष्टिक प्रयोगबाट हुने हानिबारे पर्याप्त जानकारी दिन सकियो भने त्यो प्लाष्टिक झोला प्रयोग गरेवापत हुने जरिवानाभन्दा बढी प्रभावी हुन सक्छ। किनकि यस्तो निर्णयको सकारात्मक प्रभाव आखिर त्यही झोला प्रयोग गर्ने बिक्रेता र क्रेता दुवैलाई बढी पर्ने न हो। जुन कुरा बुझाउनमात्र सकिए यो निर्णयले सार्थकता पाउने अपेक्षा गर्न सकिन्छ।

http://www.nagariknews.com/opinions/98-opinion/56695-2013-04-17-05-26-44.html

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)